नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले संसदीय दलको विधान अनुसार दलको नेता नै प्रधानमन्त्रीका लागि दावेदार हुने बताएका छन् ।'दलको नेता नै प्रधानमन्त्री हुने संसार भरीको चलन हो',उनले भने-'पार्टी भित्र त्यस विषयमा कुनै विवाद छैन । काँग्रेस प्रजातान्त्रिक पार्टी हो विधान अनुसार चल्छ ।'
जिब्रोको फ्लो अप उपचारकालागि अमेरिका गएर शुक्रकार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै सहमतीय सरकारका लागि काँग्रेसले पहल गर्ने बताए । 'पहिलो चाहना सहमतीय सरकार हो,त्यसका लागि प्रयास गर्छौ' उनले भने ।माओवादीले प्रधानमन्त्रीको राजीनामा आएपछि सबै कुरा मिल्ने भन्दै आएकाले अब उसको व्यवहारले धेरै कुरा स्पष्ट हुने उनले उल्लेख गरे । जेठ १४ गते राति भएका तीन बुँदे सहमतिको पहिलो नम्बर बुँदा माओवादीले कार्यान्वयन गर्नुपने उनको कथन थियो । उनले शान्ति र संविधानप्रतिको उसको प्रतिवद्धता,वाईसीयल अर्द्ध सैनिक संरचना भंग,कब्जा घर जग्गा फिर्ता र लडाकु समायोजन नभएसम्म माओवादीको नेतृत्व स्विकार्न नसकिने बताए । माओवादी र एमालेले सरकार चलाइसकेकाले अब काँग्रेसले सरकारको दावी गर्नु स्वभाविक भएको उनले भने ।
कोइरालालाई स्वागत गर्न पुगेका संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामापछि माओवादीको व्यवहारमा बेइमानी देखिएको बताए ।विमानस्थलमा सयौंको संख्यामा काँग्रेसी नेता तथा कार्यकर्ता कोइरालाको स्वागतमा पुगेका थिए । त्यहाँ देउवा पक्षीय चर्चित नेता कोही देखिएनन् ।

No comments:
Post a Comment