नरापो न्यूज, काठमाडौं
प्रधानमन्त्रीको राजीनामासँगै आफ्नो 'वार्गेनिङ' शक्ति बढाउन मधेसी नेताबीच रणनीतिक बैठक तीव्र भएका छन् । सञ्चारमाध्यमलाई जानकारी नदिई गरिएका यस्ता बैठकमा चारवटै मधेसी दलको बलियो गठबन्धन बनाउने पहलसमेत भएको छ ।
मधेसी जनअधिकार फोरम र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) एउटै बैठकमा सहभागी नभए पनि बिहीबार बिहान र बेलुका भएका दुई फरक बैठकमा उनीहरू बेग्लाबेग्लै उपस्थित भएका थिए ।पहिलो बैठक फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारको घरमा बिहान भएको थियो । जसमा गच्छदारसहित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी थिए । साँझ तमलोपा अध्यक्ष ठाकुर निवासमा भएको बैठकमा सद्भावना अध्यक्ष महतो र फोरम अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए । स्रोतका अनुसार अबको बैठक फोरम अध्यक्ष यादवको घरमा पुनः बैठक बसाउने आग्रह गरिएको छ ।'मधेसी दल निर्णायक संख्यामा छन्, सबै एउटै गठबन्धनमा रहे 'वार्गेनिङ पावर,' मा समेत वृद्घि हुने कुरा सबैले स्वीकारेका छन्,' एक उच्च मधेसी नेताले भने, 'राजनीतिमा सबै जायज हुन्छ, मधेसलाई सशक्तीकरण गर्न चारै दलको गठबन्धन हुन सक्छ ।'
स्रोतका अनुसार गच्छदार र यादव एक ठाउँमा आउने नभएकाले नै फरक-फरक बैठकको व्यवस्था गरिएको हो । बिहीबारका दुवै बैठकमा चारै अध्यक्षबाहेकका अरू नेता सहभागी थिएनन् । बिहानको बैठकका आयोजक गच्छदार साँझको बैठकमा फोरम अध्यक्ष यादवलाई आउन असजिलो नहोस् भनेर गएका थिएनन् । 'दुवै फोरमका अध्यक्षबीच अत्यन्त तनाव छ, तर यो तनावले उनीहरूको दल, मधेस र मधेसी शक्तिलाई बलियो नबनाउने उनीहरू राम्ररी जान्दछन्,' अर्का नेताले भने, 'तत्कालका लागि असहमतिका विन्दुहरूलाई थाँती राख्दै संविधान निर्माण, मधेस मुद्दा र आगामी सरकारमा मधेसलाई सशक्त रूपमा प्रस्तुत गर्न उनीहरू एक ठाउँमा आउन सक्छन् ।'
संविधानसभामा फोरम (लोकतान्त्रिक) को २७, फोरमको २५, तमलोपाको २० र सद्भावनाको ९ गरी मुख्य मधेसी दलका ८१ सभासद छन् । यसरी मधेसी दलहरू माओवादी वा कांग्रेस-एमालेसँग मिल्दा पनि बहुमतीय सरकार निर्माण हुन सक्छ । कांग्रेसको १ सय १४ र एमालेको १ सय ९ गरी जम्मा २ सय २३ सभासद छन् । माओवादीको २ सय ३० सभासद छन् । बहुमतीय सरकार बनाउन ३ सय १ सभासद आवश्यक पर्छ ।

No comments:
Post a Comment