नरापो न्यूज, काठमाडौं
एकीकृत माओवादीले आगामी सरकारको नेतृत्वको पहलका लागि अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्षद्वय मोहन बैद्य तथा बाबुराम भट्टराई सम्मिलित तीन सदस्यीय उच्च टोली बनाएको छ। प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको भोलिपल्ट बिहीबार पार्टी स्थायी समिति बैठकले आगामी सरकारको नेतृत्वको पहल गर्ने निर्णयसाथ टोली गठन गरेको छ। टोलीले अन्य दलसँग वार्ता गर्नेछ।
माओवादी सेनाको संख्या निश्चित नगर्ने, शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रतिबद्धता जनाई लचकता देखाएर सहमतीय सरकारको नेतृत्व लिनुपर्ने तर्क अध्यक्ष दाहालले निकटस्थहरूसँग गरेका छन्।
'शान्ति प्रक्रियालाई टुंगो पुर्याउन र संविधान निर्माणका लागि अध्यक्ष दाहालले नै नेतृत्व लिनु हुन्छ। नभए हुँदैन। पहिले सुप्रिम कमाण्डरको हैसियतले जनमुक्ति सेनाबारे अप्ठेरो निर्णय लिन पनि त्यो आवश्यक छ', दाहाल निकट एक स्थायी समिति सदस्यले भने।
बहुमतीय सरकारको विकल्पमा पनि जाने पोलिटव्युरो बैठकको निर्णयपछि पार्टीमा सरकारको नेतृत्वका लागि विकल्प दिने-नदिनेबारे दुई खेमा प्रष्ट देखिएको छ। अध्यक्ष दाहालले आफ्नो नेतृत्व स्वीकार नभए सरकारमा नजाने अडान लिएका छन् भने बैद्य र भट्टराईले विकल्प खुला रहेको सार्वजनिक रूपमा बताइसकेका छन्।
सरकारको नेतृत्व गर्नुपर्नेमा सबै नेता एक मत देखिए पनि प्रधानमन्त्रीको उम्मेदवारबारे फरक-फरक धारणा आइरहेको बेला वैद्यले बिहीबार पनि भने- 'पहिलो जोड अध्यक्षले नै राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्नुपर्छ भन्ने हो। सहमति, सहकार्यका लागि व्यक्तिबारे विकल्प खुला नै छ।'
दाहाल पक्षले भट्टराईलाई उम्मेदवार बनाउन अस्विकार गरे महासचिव रामबहादुर थापालाई अघि बढाउने रणनीति भट्टराई र वैद्यको संयुक्तरूपमा हुन सक्ने स्रोतहरूले जनाएका छन्।
दाहाल पक्षले भने भट्टराईलाई अन्य दलबाट समर्थन भए पनि पार्टीले विकल्पका रुपमा पेश गर्ने सम्भावना नभएको जिकीर गरेका छन्। 'बाहिर भने जस्तो पार्टीमा भट्टराईको सम्भावना छैन। थापा आफै चाहँदैनन्। पार्टीभित्रको आधार पनि छैन', दाहाल निकट स्रोतले दाबी गर्यो।
उता भट्टराई पक्षका एक नेताले अध्यक्ष दाहाललाई अन्य दलबाट समर्थन जुटाउन कठिन रहेको जनाउँदै भने, 'एक वर्षसम्म उहाँकै नेतृत्वमा सरकार गठन हुनुपर्छ भनेर आन्दोलन गर्दा कुनै उपलब्धि भएन। त्यही निश्कर्षमा पछिल्लो पोलिटव्युरोले विकल्प खुला गरेको हो।'

No comments:
Post a Comment