काठमाडौं, चैत्र २५ - प्रधानमन्त्री झलनाथ खनालले एक दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने दाबी गरेका छन् ।'तपाईंहरूलाई लागेको हुनसक्छ दुई-दुई महिना पुग्दा पनि सरकारको विस्तार हुन सकेको छैन । अरु के कामको अपेक्षा गर्ने ?,' बिहीबार नेपाल ईन्जिनियरिङ्ग पेशाकर्मी संघको दोस्रो राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्रीले भने, 'यसको जवाफ मैले एक दुई दिनमै दिने तयारीलाई अघि बढाएको छु ।
सरकारको आकार विस्तार हुन्छ ।'आफू नेतृत्वको सरकार ऐतिहासिक घडीमा गठन भएको बताउँदै प्रधानमन्त्री खनालले एकता र समझदारीमा सरकारको विस्तार गर्दै शान्ति र संविधान निर्माणलाई टुङ्ग्याई छाड्ने अठोट गरे । 'तबमात्रै मुलुक राष्ट्रिय विकासको नयाँ चरण र उचाईमा प्रवेश गर्नेछ र समृद्धिको नयाँ यात्रा थालनी हुनेछ,' उनले भने ।
प्रधानमन्त्री खनालले शान्ति प्रक्रियालाई पूर्णता दिई नयाँ संविधान निर्माण गर्नु नै सरकारको मुख्य कार्यभार रहेको बताउँदै त्यसका लागि लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीचको एकता, सहमति र सहकार्यको आवश्यकता औँल्याए । प्रधानमन्त्री खनालले सरकारले शान्ति र संविधानको राष्ट्रिय कार्यभार पूरा गर्न नै अर्जुनदृष्टि लगाएको दोहोर्याए ।
प्रधानमन्त्री खनालले पूर्वाधार विकासमा विकल्पहरु नसोच्दा समस्या भोगिरहेको उल्लेख गरे । 'हामी कहाँ पूर्व-पश्चिम राजमार्ग निर्माण भएको छ, जब कि चार पाँच जना मानिसले कहीं अवरोध गर्दा हाम्रो आवागमन नै ठप्प हुन्छ,' उनले भने, 'विकल्पका बारेमा सोच्दै नसोचिएका कारणले गर्दा हामीले यो हविगत भोगिरहेका छौं ।'
प्रधानमन्त्री खनालले मुलुकको हवाई, सडक, रेलवे नेटवर्कको विकास गर्न तथा बसोवासलाई पनि नयाँ संरचना र आकारमा व्यवस्थित गर्न इन्जिनियरहरुले खाका कोर्नुपर्नेमा जोड दिए । 'तपाईंहरू सबैका सामु उपस्थित हुँदा मैले यहाँ देशको मुहार कस्तो बनाउने भन्ने खाका प्रस्तुत गर्न सामर्थ्य राख्ने दक्ष जनशक्ति देखिरहेको छु,' इन्जिनियरहरुप्रति लक्षित गर्दै उनले भने, 'किनभने, राष्ट्रको पुनः निर्माण गर्ने मानिसहरू वास्तवमा तपाईं हामीहरू नै हौं ।'

No comments:
Post a Comment