नरापो न्यूज, काठमाडौँ, मङ्सिर ८ गते । संविधानसभाको निर्वाचनमा जनता जनार्दनले दिएको अभिमतलाई सहर्ष स्वीकार्न एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई नागरिक समाजका अगुवाहरूले सुझाव दिनुभएको छ ।निर्वाचनमा जनताले प्रकट गरेको मतलाई लिएर एनेकपा (माओवादी)बाट सार्वजनिक भएको प्रतिक्रियालाई उहाँहरूले आवेगपूर्ण अभिव्यक्तिको सङ्ज्ञा दिनुभएको छ ।मुलुकमा मात्र नभई धेरै–थोरै समयमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेताका रूपमा आफूलाई स्थापित गराउनुभएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई यो प्रक्रियामा सामेल भए निर्वाचनको पूर्ण परिणाम आएपछिमात्र त्यसलाई विश्लेषण गरेर मात्र संयमितका साथ प्रतिक्रिया दिन र कार्यकर्तालाई सम्झाउन नागरिक समूह अग्रजले आग्रह गर्नुभएको छ ।लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन प्रक्रियामा सामेल भइसकेपछि जनमतको सम्मान गर्नु हो भन्दै अध्यक्ष दाहालजस्तो शीर्ष नेताले आवेगमा आएर हारेको मानसिकताको आधारमा नभई धैर्य र संयताका साथ आफ्ना दृष्टिकोण सार्वजनिक गर्दा भलो हुने उहाँहरूको तर्क थियो ।
यसैबीच, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले मुलुकको पछिल्लो राजनीतिक विकासलाई सूक्ष्म विश्लेषण र महसुस गरेर जनताले विवेकपूर्ण ढङ्गले दिएको अभिमत र निर्णयलाई सबै पक्षलाई शिरोधार्य गर्न सल्लाह दिनुभएको छ ।उहाँले भन्नुभयो, "जनता जनार्दनले जहिलेपनि सही निर्णय दिँदै आएका छन्, उनीहरूले दिएको निर्णय अकाट्य हुन्छ ।" जनताले दललाई अहिलेपनि मिलेर काम गर्न अभिमत दिएका छन्, सकेसम्म सहमति कायम गरेर अघि बढ्दा उत्तम हुने भएता पनि बहुदलीय प्रणाली, पद्धति र प्रतिस्पर्धामा सधँैभरी त्यो सम्भव नहुन सक्छ, त्यसकारण मुलुकको हितमा अब नेताहरूले जिम्मेवारी बहन गर्नुपर्छ– पूर्व प्रमुख आयुक्त श्रेष्ठले भन्नुभयो ।एमाओवादीको पक्षबाट समग्र निर्वाचनको पुनरावलोकन गर्नुपर्ने मागसहित गरिएको आशङ्कालाई असम्भव भनी उहाँले टिप्पणी गर्नुभयो ।प्राध्यापक डा श्यामकान्त सिलवालले छोटो समयमा राष्ट्रिय नेताको रूपमा स्थापित भइसकेका एमाओवादीका अध्यक्ष दाहाललाई संयमताका साथ निर्वाचनको परिणाम स्वीकार्न र कार्यकर्तालाई सम्झाउन सुझाव दिनुभयो ।उहाँले भन्नुभयो, "राष्ट्रिय नेताका रूपमा रहनुभएका अध्यक्ष दाहालले निर्वाचनको नतिजाको सम्पूर्ण नहेरी व्याख्या विश्लेषण नगरी धेरै नै चाँडो प्रतिक्रिया र वक्तव्य आयो, जुन ठिक थिएन ।"
सम्पूर्ण राजनीतिक दल र नेता मिलेर अब राष्ट्रिय हितका लागि काम गर्न सुझाउ दिँदै प्राध्यापक सिलवालले राजनीतिक दलको अहिलेसम्मका काम कारबाहीप्रति दिक्क भएर र चित्त नबुझेर नेतालाई जनताले परीक्षण गर्ने क्रममा निर्वाचनको पछिल्लो नतिजा देखिएको हो, भन्नुभयो ।सहप्राध्यापक भुवन ढुङ्गानाले निर्वाचनका क्रममा कहीँ कतै एकाध आचारसंहिता विपरीतका घटना भएको सुनिएको भएतापनि समग्रतामा निर्वाचन निष्पक्ष भएकाले अध्यक्ष दाहालले परिणामलाई सहजै स्वीकार गरी राजनेताको रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस र नेकपा–एमालेलाई एकपटक जनताले मौका दिएकाले त्यो मौकालाई जितको उन्मादमा नरमाएर जनताको पक्षमा काम गरेर देखाउन सल्लाह दिनुभयो ।अघिल्लो निर्वाचनका तुलनामा अहिलेको संविधानसभामा महिलाको उपस्थिति ज्यादै कम देखिएकाले राजनीतिमा महिला सहभागिता बढाउनेतर्फ विशेष पहल गर्न सबै राजनीतिक दलसँग उहाँले अनुरोध गर्नुभयो । रासस

No comments:
Post a Comment